|  

बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक शुरु

५ कार्तिक, काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ। नेपाली सेनाको पृतनापति सम्मेलन सकिएको दोस्रो दिन नै प्रधानमन्त्री कार्यालय बालुवाटारमा प्रधानमन्त्री एवं सुरक्षा परिषदको अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसेको हो।

बैठकमा देशको आन्तरिक तथा बाह्य सुरक्षाको स्थितिबारे छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो। परिषद्मा प्रधानमन्त्रीसँगै रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधान सेनापति सदस्य रहने संवैधानिक व्यवस्था छ।

बैठकमा मुलुकमा शान्ति सुरक्षाको अवस्था र अहिलेको विकसित घटनाक्रमबारे छलफल हुने भनिएको छ। बैठकमा कोभिड–१९ को बढ्दो संक्रमण र यसबाट हुने सुरक्षा चुनौती लगायत प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहको गतिविधिबारे छलफल हुने बताइएको छ।