|  

बिमितलाई उपचार खर्च दिन बिमा कम्पनीलाई सरकारको निर्देशन

५ कार्तिक, काठमाडौं । कोरोना बिमा गरेका बिमितलाई उपचार खर्च प्रदान गर्न बिमा समितिले कम्पनीहरूलाई निर्देशन दिएको छ । बुधबार सरकारको आदेश कार्यान्वयनका लागि भन्दै समितिले बिमा कम्पनीहरूलाई यस्तो निर्देशन दिएको हो ।

कुनै पनि व्यक्तिले कोरोना बिमा गरेको भए उनीहरूको उपचार खर्च बिमा रकमबाट काटिने सरकारको निर्णय छ । तर, बिमा कम्पनीबाट क्लेम (भुक्तानी) नपाइने भएपछि संक्रमितको उपचारमा कठिनाइ हुँदै आएको जानकारहरू बताउँछन् । सोही व्यवस्था कार्यान्वयनका लागि समितिले कम्पनीलाई निर्देशन दिएको हो ।

कोरोना बिमा मापदण्ड–२०७७ मा आवश्यक कागजात पुगेका बिमितले बढीमा सात दिनभित्र भुक्तानी पाइसक्नुपर्ने प्रावधान छ । तर, अनेक बहानामा बिमा कम्पनीहरूले भुक्तानी दिन आनाकानी गरेका छन् । 

सरकारले गत असोज १९ मा आर्थिक रूपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपांगता भएका नागरिक, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायतको मात्रै लक्षण देखिए मात्र परीक्षण र उपचार नि: शुल्क गर्ने निर्णय गरेको छ ।