|  

खाद्य कम्पनीमा खसीबोका किन्नेको उल्लेखिय भीड : कोरोना जोखिम कति ?

६ असोज,काठमाडौं - खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा खसीबोका किन्ने सर्वसाधारणको भीड लागेपछि कम्पनीले थप एक हजार खसीबोका खरिद गरेको छ ।

दसैंलाई लक्षित गरेर खाद्य कम्पनीले सोमबारबाट खसीबोका बिक्री गर्न सुरु गरेको थियो । कम्पनीले यसपटक एक हजार खसीबोका मात्र बिक्रीका लागि राखेको थियो । तर, एक हजार खसीबोका तीन दिनमै बिक्री भएपछि कम्पनीले थप एक हजार खसीबोका खरिद गरी बिक्री गर्ने निर्णय गरेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।

उनले कम्पनीमा खसीबोका किन्न आउनेको भीड व्यवस्थापन गर्न गाह्रो परेको बताइन् । कम्पनीले केही समय खसीबोका बिक्री गर्न रोकेर टोक्न प्रणालीबाट खसीबोका बिक्री गरेको सुवेदीले बताइन् । उनले बजार मूल्यभन्दा किलोमै करिब एक सय रुपैयाँ सस्तोमा पाइने भएपछि खाद्य कम्पनीमा सर्वसाधारणको भीड लागेको हुनसक्ने बताइन् ।

उनले भनिन्, ‘खाद्यले खसीबोका प्रतिकिलो ५ सय ५० रुपैयाँमा बेचिरहेको छ  । बजारमा किलोकै ६ सय ५० रुपैयाँसम्ममा बिक्री गरिएको छ । खाद्यका खसीबोका स्वस्थ छन्, सस्तो पनि भएकाले धेरै आकर्षण देखियो ।’

खाद्यले खसीबोका तुलसीपुर र हेटौंडाबाट खरिद गरेर ल्याएको हो । खरिद गर्न जिल्ला प्राथमिक खरिद समिति बनाएको छ । समितिमा प्रमुख जिल्ला अधिकारी, खाद्य, कृषि विकास र किसानसहित सदस्य रहन्छन् । समितिले मूल्य निर्धारण गरेपछि सोही मूल्यमा सरकारले किन्छ । त्यसपछि प्रशासनिक र ढुवानी खर्च जोडी बजार मूल्य हेरेर खसीबोकाको मोल निर्धारण गरिन्छ ।