|  

डिजिटल कारोबार प्रोत्साहन गर्न उपहार योजना

६ कार्तिक, काठमाडौ - नेपालीहरुको महानचाड वडादसैको अवसरमा विद्युतिय कारोबारलाई प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थाका साथै विद्युतीय भुक्तानी सेवा प्रदायकहरुले विभिन्न अफरहरु सार्वजनिक गर्न थालेका छ ।                                                                               कोभिड–१९ को संक्रमणका कारण सर्वसाधारणहरु विद्युतीय कारोबारतर्फ आकर्षित भइरहेका बेला ग्राहकलाई आकर्षित गर्नका लागि कम्पनीहरुले उपहारसहितका योजना सार्वजनिक गरेका हुन् ।
वाणिज्य बैंकहरु मेगा, माछापुच्छ्रे, नविल र भुक्तानी सेवा प्रदायकहरु फोन पे, इसेवा, आइएमई पे, प्रभु पे, खल्तीलगायतले विभिन्न योजना ल्याएका छन् । मेगा बैंकले डिजिटल दक्षिणा ‘तीनमा तीन सय’ नामक योजना ल्याएको छ । योजना अन्र्तगत मेगा बैंकका ग्राहकले मेगा स्मार्ट बैंकिङ एप प्रयोग गरेर फोन पेमार्फत कुनै पनि बैंकको तीन वटा खातामा दक्षिणा स्वरुप न्यूनतम ५ सय रुपैयाँ रकम पठाउनुपर्नेछ । यसरी दक्षिणा बापत रकम पठाउनेको खातामा मेगा बैंकबाट ३ सय रुपैंया ‘क्यासब्याक’को व्यबस्था गरिएको बैंकले जनाएको छ ।
यसैगरी नविल बैंकले दसैमा सपिङ र दक्षिणका लागि विद्युतीय कारोबार प्रोत्साहन गरौं भन्ने जनचेतनात्मक दृश्य सामग्रीमार्फत प्रचारप्रसार गरिरहेको छ । कोभिड–१९ को संक्रमणसँग जोडर बनाइएको भिडियो सामग्रीलाई सर्वसाधारणले रुचाएका छन् ।
                                                                    माछापुच्छ बैंकले विजया दशमीको टिकादेखि पूर्णिमासम्म डिजिटल दक्षिणा पठाउने ग्राहकलाई क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । माछापुच्छ्रे मोबाइल मनिमार्फत दुई सय रुपैयाँ भन्दा बढी डिजिटल दक्षिणा पठाउने ग्राहकलाई क्यासब्याक वापत एक सय रुपैयाँ ग्राहकको खातामा जम्मा हुने बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाका साथै भुक्तानी सेवा प्रदायकहरुले पनि ग्राहक तान्न उपहार योजना ल्याउन थालेका छन् । इसेवाले ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक योजना सार्वजनिक गरेको छ । यस उपहार योजनाअन्र्तगत बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले टिभिएस अपाची आरटिआर मोटरसाइकल जित्न सक्नेछन् भने एक हजार भन्दा बढीले विभिन्न किसिमका आकर्षक उपहार कुपन प्राप्त गर्नेछन् । आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुने योजनामा इसेवामार्फत भुक्तानी गर्ने हरेक व्यक्तिमध्येबाट गोलाप्रथा गरि बिजेता घोषणा गरिने कम्पनीले जनाएको छ ।
                                                                      भुक्तानी सेवा प्रदायक खल्तीले भाग्यशाली ग्राहकलाई सगरमाथामा ब्रेकफास्ट गर्न पाउने योजना सञ्चालन गरिरहेको छ । यस्तै फोन पेले भने गोलाप्रथाबाट ग्राहकलाई दैनिक एक लाख र भाग्यशाली ग्राहकलाई ५ लाख रुपैयाँ प्रदान गर्ने दसै धनमौका योजना सञ्चालन गरेको छ ।
नेपालमा पछिल्लो समय विद्युतीय कारोबारप्रति सर्वसाधारणको आकर्षण बढिरहेको छ । सर्वसाधारणको एटिएम, मोवाइल/इन्टरनेट बैंकिङ, डेबिट/क्रेडिट/प्रिपेड कार्ड, आरटिजिएस, इसिसी, आइपिएस, कनेक्ट आइपिएस र आइपिएस जस्ता प्रविधिमा आधारित कारोबारमा चासो बढेको छ ।
                                                                        नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार कोभिड संक्रमण रोक्न गरिएको लकडाउन अवधिमा विद्युतीय कारोबार करिब शत प्रतिशत बढेको थियो । पछिल्लो समय अनलाइन सपिङदेखि, एक खाताबाट अर्को खातामा रकम ट्रान्सफर गर्न, युटिलिटी बिल पेमेन्ट, सरकारी राजस्व भुक्तानीमा समेत विद्युतीय प्रविधिको प्रयोग हुन थालेको छ ।
विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबारको सीमा बढाउँदै लगेको छ । बैंकहरुले लकडाउनको अवधिमा विद्युतीय कारोबार निःशुल्क गरेको थिए ।
बैंक तथा वित्तीय संस्थाका अतिरिक्त नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर ९ वटा कम्पनीले भुक्तानी प्रणाली सञ्चालक र १५ कम्पनीले भुक्तानी सेवा प्रदायकको काम गर्दै आएका छन् । यी कम्पनीसँग सहकार्यमा वित्तीय कारोबार गर्ने सहकारीहरुले पनि विद्युतीय भुक्तानी सेवा सञ्चालन गर्न थालेका छन् ।