|  

कोरोना संक्रमणबाट चितवनमा गर्भवती महिलासहित दुई जनाको मृत्यु

६ कार्तिक,चितवन - चितवनमा आज बिहीबार बिहान गर्भवती महिला सहित दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृतक मध्ये एक जना जिल्लाकै हुन् भने अर्का एक जना हाल हेटौंडा निवासी गर्भवती महिला हुन् । चितवन रत्ननगर १३ निवासी ८५ वर्षीय पुरुषको भरतपुर अस्पतालमा मृत्यु भएको हो । मृतक पुरुषलाई ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई अस्पतालमा भर्ना गरिएकोमा ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको उपचारका क्रममा आज बिहान ७:५५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका घर भई हाल मकवानपुरको हेटौंडा-५ बस्ने ३३ वर्षीया कोरोना संक्रमित गर्भवती महिलाको उपचारको क्रममा मृत्युु भएको हो । उनको अवस्था जटिल भएपछि बुधबार भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

असोज ३० गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलामा खोकी, श्वासप्रश्वासमा समस्या थियो । उनी ३७ हप्ताको गर्भवती भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए ।