|  

रअ' प्रमुखले प्रधानमन्‍त्रीसँग भेटेका हुन् : प्रधानमन्त्री सचिवालय

६ कार्तिक,काठमाडौ - भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख  सामन्तकुमार गोयलले  प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको सचिवालयले पुष्टि गरेको छ।                               प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार एक वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीसँग  गोयलले शिष्टाचार भेट गरेको जानकारी दिएका हुन्।                     प्रधानमन्‍त्रीसँग भेटका लागि बुधबार बेलुका गोयल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। भेटका क्रममा उनले नेपाल(भारतबीचको  मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिएका छन्।         रअका प्रमुख गोयलसहित भारतीय अधिकारीहरूको विशेष टोली बुधबार भारतीय वायु सेनाको विशेष विमानमार्फत बुधबार नेपाल आएको थियो। काठमाडौं बसाइका क्रममा उनले केही अधिकारीसँग अनौपचारिक परामर्श गरेको दाबी स्रोतले गरेको छ। 
पूर्व प्रधानमन्त्रीद्धय एवं नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो रअ प्रमुख गोयलसँग भेट नभएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन्। करिब २२ घन्टाको बसाइपछि गोयल बिहीबार नै स्वदेश फर्किएका छन्।