|  

नेकपा नेता चौरसियाको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न अध्यक्ष दाहालको माग

९ कार्तिक, काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पर्सा पार्टी जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्नलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

अध्यक्ष दाहालले आज विज्ञप्ति जारी गर्दै दोषी जोसुकै भए पनि कारबाही गर्न माग गरेका हुन्। यही कार्तिक ६ गते पर्सा, विन्दवासिनी गाउँपालिका पार्टी कमिटीको शपथ ग्रहण कार्यक्रममा नेकपा पर्सा जिल्ला समिति सदस्य तथा गाउँपालिका सचिव चौरसियाको हत्या भएको थियो।

अध्यक्ष दाहालले चौरसियालाई सहिद घोषणा गर्न तथा हत्यारालाई कारबाही गर्न माग गर्दै पार्टी जिल्ला कमिटीका इञ्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट जारी वक्तव्यको समर्थनसमेत गरेका छन्।

“हत्याजस्तो जघन्य अपराध हुँदासमेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ,” अध्यक्ष दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “म केन्द्र सरकारलाई अविलम्ब दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै मृतकप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारजनमा समवेदना प्रकट गर्दछु।”