|  

‘संक्रमितको मृत्युदर बढ्यो, अब कडा कदम चालौं’ डब्लुएच्ओ

१२ कार्तिक,काठमाडौं - विश्वभर महामारीको रुप लिएर फैलिएको कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । 

अहिलेसम्म बिश्वभर संक्रमितको संख्या ४ करोड ४२ लाख नाघेको छ भने ११ लाख ७१ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना भाइरस सम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ४ करोड ४२ लाख ३४ जार ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ११ लाख ७१ हजार २७२ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ३ करोड २४ लाख ४२ हजार ९४८ जना कोरोना मुक्त भएका छन् ।

डब्लूएचओ भन्छ : संक्रमितको मृत्युदर बढ्यो
करीब तीन महीनापछि विश्वमा एकैदिन कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या मंगलबार सात हजार नाघेको छ । यसअघि ५ अगष्टमा एकैदिन विश्वभर सात हजार ४८ जनाको मृत्यु भएको थियो ।

अक्टोबरमा २१ तारिख सबैभन्दा धेरै ६ हजार ८४९ जनाको मृत्यु भएको थियो । विश्वमा एकैदिन सबैभन्दा बढी संक्रमितको मृत्यु १७ अप्रिलमा भएको थियो । उक्त दिन आठ हजार ५१४ जनाको मृत्यु भएको तथ्याङ्क छ ।

हिजो सबैभन्दा धेरै अमेरिकामा १०३७ जनाको मृत्यु भएको छ । अक्टोबरमा दोस्रोपटक अमेरिकामा मृतकको संख्या एकैदिन एक हजार नाघेको हो । यसअघि २१ अक्टोबरमा एक हजार २२१ जनाको मृत्यु भएको थियो । त्यस्तै मंगलबार ब्राजिलमा ५३०, फ्रान्समा ५२३ र भारतमा ५१९ जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमित र मृतकको संख्या अकस्मात बढ्न थालेको हो । त्यहाँ राष्ट्रिय आपतकाल लगाइसकिएको छ ।

यूरोपमा कोरोना भाइरसको संक्रमणका कारण दैनिक मृत्यु हुनेको संख्या एक हप्तामै ४० प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले जनाएको छ । फ्रान्स, स्पेन, बेलायत, नेदरल्याण्ड्स र रुसमा संक्रमितसँगै मृत्यु हुनेको संख्या एक तिहाईले बढेको डब्लूएचओकी प्रवक्ता डा. मारगेरेट ह्यारिसले बताएकी छन् ।