|  

र्यापर भिटेनलाई कारबाही गर्न साइबर ब्यूरोलाई प्रहरी प्रधान कार्यालयको निर्देशन

१३ कार्तिक, काठमाडौं । र्यापर भिटेन उपनामले चर्चित समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई निर्देशन दिएको छ। एक साताअघि युट्युबमा भिटेनको ‘पारा’ शीर्षकमा सार्वजनिक भएको र्याप भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएको भन्दै प्रहरी प्रधान कार्यलयले कारबाही गर्न साइबर ब्यूरोलाई पत्र लेखेको हो।

एक वर्षअघि र्यापर भिटेन समिर घिसिङ पक्राउ परे । उनलाई ‘हामी यस्तै त हो नि ब्रो’ बोलको र्यापमा छाडा शब्द प्रयोग गरेको र प्रहरीको बर्दी दुरुपयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

उनी पक्राउ परेपछि कतिलेप्रहरीले राम्रो काम गरेको भन्दै तारिफ गरे भने कतिले उनलाई पक्राउ गर्न नहुने भन्दै विरोध गरे ।

पक्राउ परेका भिटेनलाई केही दिन हिरासतमा राखेपछि प्रहरीले आइन्दा गीतमा छाडा शब्द प्रयोग नगर्ने सहमतिमा छाडेको थियो ।

प्रहरी हिरासतबाट छुटेपछि उनले मिडियामा अन्तर्वार्ता दिँदै आफूलाई अपराधीको शैलीमा प्रहरीले पक्राउ गरेको बताएका थिए ।

अहिले साइबर ब्यूरोले अनुसन्धान गरिरहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए। भिटेनले र्याप भिडियोमा आपत्तिजनक शब्द प्रयोग गर्नुको साथै प्रहरीलाई समेत दुर्वचन प्रयोग गरेकाले कारबाही गर्न निर्देशन दिएको एसएसपी कडायतले बताए। उनले भने, “भिडिओमा प्रयोग भएका शब्द सभ्य समाजले पचाउने खालका छैनन्। नेपाली समाज, महिला र प्रहरीलाई आपत्तिजनक भाषा प्रयोग गरेको देखिन्छ।”