|  

कोरोना कहरकैबीच एक्सन देखाउँदै पल र वर्षा, म्युजिक भिडियोमा चलचित्र शैलीको दृश्य

१७ कार्तिक, काठमाडौं । कोरोना कहरबीच निर्माण भएका भिडियोहरू केही पृथक खालका छन्, जसले चलचित्र हेरेको आभास गराउँछन्। कलाकार तथा कोरियोग्राफर गम्भीर विष्टले म्युजिक भिडियोमा चलचित्र शैलीको एक्सन दृश्य समावेश गरेका छन्। ‘छलक छलक छल्क्यो माया’ बोलको गीतको भिडियोमा एक्सनसहित रोमान्टिक, डान्सिङ प्रेमकथा देख्न सकिन्छ। 

दीपक सिलवालको शब्द तथा संगीत रहेको गीतमा गायक शिव परियार र निरुषा भट्टराईको स्वर छ। गीतको भिडियोमा अभिनेताद्वय पल शाह र शिशिर भण्डारीसँगै अभिनेत्री वर्षा राउतले अभिनय गरेका छन्। दर्शकलाई चलचित्र हेरेजस्तो महसुस गराउन भिडियोमा एक्सन दृश्य समावेश गरेको निर्देशक विष्टले जानकारी गराए।

‘कोरोनाका कारण दर्शकले नयाँ चलचित्र हेर्न नपाएको लामो समय भइसकेको छ। अब कहिले चलचित्र हेर्न पाइन्छ, टुंगो छैन। नायक पल शाह, नायिका वर्षा राउतलाई पनि हामीले चलचित्रमा हेरेजसरी नै हेरौं र देखाऔं भन्ने सोचले मैले यो गीतको भिडियोमा एक्सन राखेको हुँ। दर्शकलाई पक्कै मन पर्नेछ’, विष्टले भने। संगीत तथा शब्द रचनाकार सिलवालले गीतले बैंसालु उमेरमा युवक–युवतीको प्रेमभाव प्रस्तुत गर्ने बताए।