|  

प्रस्तावित राजदूत खतिवडा र रेग्मीविरुद्ध गम्भीर उजुरी : उजुरीकर्ता नै फरार, अव के हुन्छ ?

१७ कार्तिक,काठमाडौं - अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतद्धय डा.युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध संसदीय सुनुवाई समितिमा गम्भीर उजुरी गर्नेहरु सम्पर्क विहीन भएका छन् ।

प्रस्तावित राजदूतद्धय डा.युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध उजुरी दिने व्यक्तिहरुलाई संसदिय समितीले पटक पटक सम्पर्कमा आउन खवर गर्दापनि उनिहरु अनुपस्थित भएपछि खतिवडा र रेग्मीमाथिको सुनुवाइ भने आगामी कार्तिक २७ गते हुने भएको छ ।  आज सोमबार संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी दिने व्यक्तिहरुलाई छलफलका लागि बोलाए पनि उनीहरु उपस्थित नभएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

उजुरीकर्तालाई पटक–पटक फोन गरेर सूचित गर्दा र गोरखापत्रमा सार्वजनिक सूचनामार्फत उपस्थित हुन आग्रह गरिए पनि उनीहरु नआएको सभापति कर्णले बताए ।  त्यस्तै समितिका सदस्यहरु देव गुरुङ र निरु पाल कोरोना संक्रमणका कारण बैठकमा उपस्थित नभएकाले केही सदस्यले सुनुवाइ सार्न आग्रह गरेका थिए ।

सदस्य गुरुङ आफैले पनि प्रस्तावित राजदूतहरु माथिको सुनुवाइ केही दिनपछि सार्न आग्रह गरेका थिए । त्यस्तै समितिका सदस्यहरु पूर्णकुमारी सुवेदी र सुरेन्द्र पाण्डेले पनि गुरुङ र पाललाई कुर्न आग्रह गरेका थिए ।

संसदीय सुनुवाइ समितिका अनुसार प्रस्तावित राजदूतहरू खतिवडा र रेग्मीविरुद्ध अनियमितता, कार्यसम्पादन, नीतिगत भ्रष्टाचार लगायतका विषयमा उजुरी परेका थिए ।

राज्यका विभिन्न निकायमा पटकपटक अवसर पाएका पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका पूर्वआर्थिक सल्लाहकार खतिवडा विरुद्ध तीन उजुरी परेका थिए ।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदित भएपछि राष्ट्रपतिले राजदूतहरूको नियुक्ति गर्ने कानुनी व्यवस्था रहेको छ ।