|  

भारतीय सेनाध्यक्ष नरभणे बसन्तपुरमा : कुमारीको दर्शन गर्दै

१९ कार्तिक,काठमाडौं - आज बिहान नेपाल आइपुगेका भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरभणे कुमारी दर्शनका लागि बसन्तपुर पुगेका छन् । 

 तीनदिने औपचारिक भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष नरभणे आज बुधबार  दिउसो कुमारीको दर्शन गर्न बसन्तपुर पुगेका हुन् । 

प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा चार सदस्यीय प्रतिनिधि मण्डलसहित नरभणे भारतीय वायुसेनाको विशेष विमानबाट काठमाडौं उत्रिएका थिए ।

नरभणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीबाट विभूषित गर्ने कार्यक्रम छ । त्यही दिन उनले राष्ट्रपति भण्डारीसँग र स्वदेश फर्किनुअघि शुक्रबार प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

नरभणेले बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगी अड्डामा द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम छ । 

भारतीय सेनाध्यक्षकी पत्नी एवं त्यहाँको सैनिक श्रीमती कल्याण संघकी अध्यक्ष विना नरभणेले प्रधानसेनापति थापापत्नी एवं सैनिक श्रीमती संघका अध्यक्ष दीपा थापासँग बेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । भारतीय स्थल सेनाध्यक्ष नरभणेले शुक्रबार शिवपुरीस्थित नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा सैनिक अधिकारीलाई सम्बोधन गर्नेछन् ।