|  

आईपीएल: दिल्लीलाई ५७ रनले हराएर मुम्बई फाइनलमा

२१ कार्तिक, काठमाडौं । मुम्बई इन्डियनस इन्डियन प्रिमियर लिग (आईपिएल) को फाइनलमा प्रवेश गरेको छ । बिहिबार राती पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई आइपिएलमा छैटौं पटक फाइनलमा प्रवेश गरेको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुम्बईले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । 

दिल्लीका लागि मार्कुस स्टोनिसले ६५ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । यस्तै अक्षर पटेलले ४२ रन जोड्दा कप्तान श्रेयस एयरले १२ रन जोडे । 

कागिसो राबडा १५ रनमा अविजित रहे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनाएको थियो । 

दिल्लीलाई समेत फाइनल पुग्ने अवसर कायमै छ । तर, फाइनल पुग्नको लागि दिल्लीले दोस्रो क्वालिफायरमा जित निकाल्नु पर्नेछ ।

फाइनल प्रवेशको लागि दिल्लीले थप एक मौका पाउने छ । शुक्रबार एलिमिनेटरमा सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुने छ । जसको विजेताले दिल्ली क्यापिटल्ससँग फाइनल प्रवेशको लागि आइतबार प्रतिस्पर्धा गर्ने छ । फाइनल मंगलबार हुने छ ।