|  

कांग्रेसमा महाधिवेशन सार्ने बहस

२९ कार्तिक,काठमाडौं - नेपाली कांग्रेसको महाधिवेशन फागुनमा गर्ने सम्भावना नदेखिएपछि नेतृत्वमा मिति सार्ने गरी छलफल शुरु भएको छ । 

नेतृत्वमा मिति सार्ने गरी छलफल शुरु भएसंगै पार्टि सभापति शेरबहादुर देउवाले भदौ, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले जेठमा गर्नुपर्ने जोड दिदै आएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल भने कार्यतालिका मात्रै संशोधन गर्नुपर्ने पक्षमा देखिएका छन् ।

पार्टी कार्यालय सानेपामा शुरु भएको केन्द्रीय कमिटी बैठकमा नेताहरुले धारणा राख्न शुरु गरेका छन् । महाधिवेशनको पूर्ण तालिका संशोधन गर्ने विषयमा नेताहरुबीच सहमति नबनेपछि कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकले क्रियाशील सदस्यता वितरण र नवीकरणको तालिकालाई मात्रै परिवर्तन गरेको छ । स्थानीय तहले क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्य भदौमा नभएर अब मंसिर मसान्तभित्रमा टुंग्याएर केन्द्रमा पठाइसक्नु पर्ने भएको छ ।

वरिष्ठ नेता पौडेल पक्षले भने प्रभावित भइसकेको क्रियाशील सदस्यताको कार्यतालिकालाई मात्रै संशोधन गर्ने अडान राखेको थियो । मंसिरमा क्रियाशील सदस्यता नवीकरण र वितरण कार्य सम्पन्न भएमा फागुनभित्रै महाधिवेशन गराउन सकिने तर्क पौडेलको थियो । पौडेल पक्षको अडानका कारण महाधिवेशनको पूर्ण कार्यतालिका संशोधन नभएको हो । 

केन्द्रीय सदस्य गगन थापा र धनराज गुरुङले महाधिवेशनको तयारीसँगै सरकारको अकर्मण्यताविरुद्धका आन्दोलनका कार्यक्रम समेत ल्याउन जोड दिएका थिए । थापा र गुरुङले समावेदनमार्फत तत्काल संसद् अधिवेशन बोलाउने प्रक्रिया अघि बढाउन समेत नेतृत्वलाई दबाब दिएका थिए ।

यसैबीच, कांग्रेसले राप्रपाका तत्कालीन नेता सुनिलबहादुर थापालाई सहमहामन्त्री बनाउने निर्णय गरेको छ । साथै उनीसँगै कांग्रेस प्रवेश गरेकाहरुमध्ये ६ जनालाई केन्द्रीय सदस्य र तीन जनालाई आमन्त्रित केन्द्रीय सदस्य बनाउने निर्णयसमेत गरेको छ । 

सरकारविरुद्धका आन्दोलनका कार्यक्रम तिहारलगत्तै बस्ने पदाधिकारी बैठकबाट तह हुने जानकारी सभापति देउवाले गराएका थिए । 

वरिष्ठ नेता पौडेलले आफूहरुले विधान र प्रक्रियाअनुसार अघि बढ्न नेतृत्वलाई आग्रह गर्दै आएको बताउँदै आफूहरुले उठाएको मागमा आंशिक सहमति बनेको बताए ।