|  

अझै दुई दिन देशैभर हिमपात र वर्षाको सम्भावना

२ मंसिर काठमाडौं - पश्चिमी वायुको प्रभावले अझै दुई दिन देशको अधिकांश स्थानमा वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने भएको छ । 

जल तथा मौसम विज्ञान विभागले हिजो सोमवार एक बुलेटिन निकालेर पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ ।

हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा वर्षा तथा हिमपात भइरहेको छ । त्यस्तै प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली हुनुका साथै बाँकी भूभागमा मौसम सामान्यतस् सफा छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशको एक वा दुई स्थानलगायत गण्डकी, वागमती र प्रदेश १ का केही स्थानमा हल्का वर्षाको सम्भावनाका साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव ७ र अधिकतम तापक्रम २४ दशमलव २ डिग्री सेल्सियस छ । 

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३२ दशमलव ७ डिग्री सेल्सियस छ ।