|  

नेकपा नेता खड्काको निधन

२ मंसिर,तम्घास - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य बोम खड्काको निधन भएको छ । 

गए राति १ बजेतिर घरमा चक्कर लागेपछि उपचारका लागि तम्घास अस्पतालमा ल्याउँदै गर्दा २ बजे उनको निधन भएको हो । नेता खड्का राजनीतिक तथा सामाजिक दृष्टिले उचाइमा पुगेका व्यक्ति हुन । विसं २०२३ असारमा धुर्कोट गाउँपालिका–१ नयाँगाउँमा जन्मिएका खड्का सानैदेखि राजनीतिमा चासो राख्ने व्यक्ति हुन ।

उनले विसं २०४१ भन्दा अगाडि नै रेसुङ्गा बहुमुखी क्याम्पसमा नेकपा (माले) निकट विद्यार्थीको सङ्गठनमा आबद्ध भई सङ्गठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए । 

उनी विसं २०४१ मा नेकपा (माले) को जिल्ला कमिटी सदस्य र विसं २०४९ मा मालेकै जिल्ला कमिटी उपसचिव भए । त्यसपछि नेकपा एमाले भइसकेपछि सङ्गठन विभाग प्रमुख हुँदै एमालेकै जिल्ला अध्यक्ष भए ।

अहिले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य तथा गुल्मी निर्वाचन क्षेत्र नं २ का इन्चार्जको जिम्मेवारीमा थिए । 

नेता खड्का जनयुद्धको समयमा पटक-पटक प्रहरीको पक्राउमा परेको, कांग्रेससँगको भीडन्तमा घाइते भएको तथा धेरैपटक यातनाको सामना गरेको नेकपा जिल्ला कमिटी कार्यालय सदस्य कृष्ण सुनारले जानकारी दिए । 

अहिले भने नेता खड्काले धुर्कोट नयाँगाउँमै कुखुरा तथा टर्कीपालन गर्दै आएका थिए । नेता खड्काका एक छोरा र एक छोरी छन् ।