|  

दुई लाख नगद र चेकसहित ७ जना जुवाडे कुलेश्वरबाट पक्राउ

२ मंसिर,काठमाडौं - प्रहरीले दुई लाख ३८ हजार ८५० नगद र ७ लाख ९४ हजार ८७० बराबरको विभिन्न बैंकको चेकसहित गरी ७ जना जुवाडेलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले काठमाडौं कुलेश्वरमा ४४ वर्षीय शिव श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा सोमबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रेका ४४ वर्षीय यादव चौलागाईँ, धादिङका ४१ वर्षीय राजु पौडेल, चितवनका ३१ वर्षीय राजीव श्रेष्ठ, केशव प्रसाद मुडवरी, बाराका ४१ वर्षीय श्याम तामाङ र कैलालीका २८ वर्षीय प्रेम बडवाल रहेका छन् ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले ठूलो रकम हारजित हुने गरी जुवा खेलिरहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले पक्राउ परेकासँग विभिन्न बैंकको ११ थान चेकबुक र एक बुक ताससमेत बरामद गरेको छ । 

पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।