|  

राष्ट्रपति भण्डारीलाई भेट्न नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड शितल निवासमा

२ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएपछि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् । मंगलबार साँझ नेकपाको शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले १९–पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेपछी नेकपाको विवाद जटिल मोडमा पुगेका बेला राष्ट्रपति भण्डारीले प्रचण्डलाई बोलाएकी हुन्।

भोलीका लागि बोलाइएको पार्टी सचिवालयको बैठक बस्ने वा रोक्ने भन्ने विषयमा नै प्रधानमन्त्री केपी ओली र इतर पक्षबीच एकमत हुन नसकेका बेला दाहाल राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन्।

मंगलबार मात्रै अर्थमन्त्री समेत रहेका पार्टीका महासचिव विष्णु पौडेल प्रधानमन्त्री ओलीका तर्फबाट भोलिका लागि बोलाइएको सचिवालय रोक्ने विषयमा छलफल गर्नका लागि दाहाल निवास खुमलटार पुगेका थिए।

स्रोतका अनुसार पौडेलले नै दाहाललाई जसरी पनि भोलिका लागि बोलाइएको बैठक रोक्न आग्रह गरेका थिए। दाहालले रोक्न सक्ने अवस्था नरहेको भनेपछि पौडेलले नै दाहाललाई एक पटक राष्ट्रपतिसँग छलफल गर्न सुझाएका थिए।

बुधबारका लागि बोलाइएको नेकपा सचिवालयको बैठक अध्यक्ष ओलीले सार्ने प्रयासका रूपमा अध्यक्ष दाहाल र राष्ट्रपति भण्डारीबीच छलफल हुनसक्ने दाहालको सचिवलायले बताएको छ।

प्रचण्डले सो बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रामक प्रतिवेदन पेस गरेपछि नेताहरुको विवाद निर्णायक चरणमा प्रवेश गरेको बताइएको छ।

सो प्रतिवेदनमा प्रचण्डले ओलीलाई पार्टी र सरकारलाई एकलौटी रुपमा सञ्चालन गर्न खोजेको, कमिटी निर्णय नमानेको लगायतका आरोप लगाएका छन् ।

शुक्रबारबाट सुरु भएको नेकपाको सचिवालय बैठक भोलि बस्दैछ। प्रधानमन्त्री ओलीले प्रचण्डको राजनीतिक प्रस्ताव फिर्ता नभई बैठक बस्न नसक्ने अडान लिएका थिए।