|  

प्रधानमन्त्री ओली र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता, मिल्ला त नेकपा विवाद ?

३ मंसिर, काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता भएको छ । नेकपामा विवाद चर्किएको बेला चिनियाँ राजदूत होउ यान्छीले मंगलबार राति प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी हुन् । 

यसअघि पनि आन्तरिक विवादका कारण झण्डै विभाजनको दोसाँधमा पुगेको नेकपालाई जोगाउन राजदूत यान्छीले भूमिका खेलेको बताइन्छ । भेटवार्ता प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टासम्म चलेको स्रोतले बतायो ।

गत वैशाखको सचिवालय बैठकमा नेकपा नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको थियो । त्यसबेला नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड, ओली, माधव नेपाल लगायतका नेताहरुलाई अलग–अलग भेटवार्ता गरेकी थिइन् ।

अहिले फेरि चर्किँदै गरेको नेकपा विवाद मिलाउन चिनियाँ राजदूतको सक्रियता बढेको भन्दै कतिपयले यसलाई आन्तरिक मामिलामा हस्तक्षेपको रुपमा लिने गरेका छन् ।