|  

मोटरसाईकल दुर्घटनामा परी २ जनाको मृत्यु

३ मंसिर, झापा - पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

त्यस्तै सोहि दुर्घटनामा परी दुई जना घाइते समेत भएका छन् ।  मृत्यु हुनेमा मे २ प ४८४७ नं को मोटरसाइकलमा सवार बुद्धशान्ति गाउँपालिका-३ का ११ वर्षीय दिप्सन कँडेल रहेका छन् भने अर्का मृतकको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

उनका अनुसार मोटरसाइकलमा पछाडि बस्ने सोही वडाकी ३९ वर्षीया सावित्रा कँडेल र ३१०२०४२ प ७९८२ नम्बरको ‘अनटेस्ट’ लेखिएको मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका-११ बस्ने २२ वर्षीय गगन तामाङ घाइते भएका छन् । उनीहरु दुबै जनाको विर्तामोडमा रहेको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

सुरुमा पश्चिमबाट पूर्व आउँदै गरेको मे २ प ४८४७ नं को मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ३१०२०४२ प ७९८२ नं को ‘अनटेस्ट’ लेखिएको मोटरसाइकलमा ठक्कर खाई अनियन्त्रित भई पल्टिएका थिए ।

सोही समयमा पश्चिमबाट आइरहेको ना ६ ख ३३५० नं को ट्रकले उक्त मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रवक्ता थापाले बताए । 

ट्रक चालक फरार रहेका छन् भने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।