|  

'नयाँ पुस्तालाई नेतृत्व दिनेगरी स्थायी कमिटीमा प्रस्ताव लैजाऔ' : विष्णु पौडेल, ओलीको उक्साहट की आफ्नै प्रस्ताव ?

३ मंसिर,काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा महासचिव विष्णु पौडेलले नयाँ पुस्तालाई नेतृत्व दिनेगरी स्थायी समिति बैठकमा प्रस्ताव लैजान माग गरेका छन् ।

सचिवालय बैठकमा महासचिव पौडेलले आक्रामक रुपमा प्रस्तुत हुंदै पार्टीभित्रको बढ्दो विवादले संकटमाथि संकट निम्तिएको भन्दै समस्या समाधानमा सचिवालय असफल भएको समेत बताएका थिए ।  ‘समस्या धेरै भयो तर समाधानमा सचिवालय असफल बन्यो’, बैठकमा सचिवालयको भूमिकाप्रति असन्तुष्टि जनाउँदै पौडेलले भने, ‘सचिवालय विघटन गरौँ । नयाँ पुस्तालाई नेतृत्व दिनेगरी स्थायी समिति बैठकमा प्रस्ताव लैजाऔं ।’ उनले भने ।

त्यस्तै महासचिव पौडेलले नेकपा भित्रको विवादले देशनै बर्दादीतिर जाने भन्दै सबै एकढिक्का भएर अघि बढ्नुपर्नेमा समेत जोड दिए । बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले भने प्रचण्डको प्रस्तावलाई ‘आरोपपत्र’ को संज्ञा दिएको एक नेताले जानकारी दिए । ‘आरोपपत्रको व्यवस्थित जवाफ दिन्छु । त्यसका लागि १० दिनको समय चाहिन्छ । त्यो समय माग गर्छु’, ओलीले बैठकमा भने । 

त्यस्तै आज ओलीकै मागअनुसार बैठक आगामी मंसिर १३ गतेसम्मका लागि स्थगित भएको छ ।  ओलीले प्रचण्डको ‘काउन्टर’ मा नयाँ प्रस्ताव समेत ल्याउने भएका छन् । 

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीले आगामी मंसिर १३ गते बस्ने बैठकमा आफ्नो छुट्टै प्रस्ताव पेश गर्ने तय भएको जानकारी दिए । सचिवालय बैठकमा यसअघि नै प्रचण्डले पेश गरेको र ओलीले ल्याउने दुबै प्रस्तावमाथि छलफल हुने उनको भनाइ छ ।  यसअघिको सचिवालय बैठकमा प्रचण्डले ओलीको आलोचना गर्दै प्रस्ताव ल्याएका थिए भने सो प्रस्तावपछि नेकपामा विवाद चर्किएको थियो । प्रवक्ता श्रेष्ठले पार्टीको संकट र निवारणको सम्बन्धमा सबै प्रस्ताव समेतको आधारमा छलफल गरेर निकास निकाल्ने प्रयत्न गरिने बताए । 

यस्तै बैठकले आगामी १८ गते स्थायी समिति बैठक बस्ने र  १५ गतेका लागि तय भएको केन्द्रीय समिति बैठक २५ गतेका लागि सारिएको श्रेष्ठले जानकारी दिए ।