|  

नक्कली पीसीआर रिपोर्ट दिने अस्पताललाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयले गठन गर्यो छानबिन समिति

४ मंसिर, काठमाडौं । नक्कली पीसीआर रिपोर्ट दिने अस्पताललाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन गरेको छ । सांस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले छानबिन र कारबाहीको माग गर्दै  कात्तिक २८ गते लेखेको पत्र अनुसार स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन गरेको हो। 

समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण, महाशाखा, टेकुका डा. अमृत पोखरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ल्याब विज्ञ बलराम गौतम सदस्य रहेका छन् ।

उपत्यकाका विभिन्न निजी ल्याबले विदेश जानेलाई नक्कली पीसीआर रिपोर्ट बनाएर दिएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै उपत्यकामा सञ्चालिन अस्पताललाई कारबाही गर्न माग गरेको थियो। पर्यटन मन्त्रालयले  कोभिड १९ संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य मन्त्रालयलाई पत्र काटेर कारबाही गर्न भनेको हो ।  

निजी ल्याबले दिएका नक्कली रिपोर्ट लिएर हङकङ्ग र युएई पुगेका नेपालीमा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएपछि मन्त्रालयले छानबिनका लागि अनुरोध गरेको हो । 

पर्यटन मन्त्रालयले लेखेको गोप्य पत्र अनुसार ह्याम्स, स्टार अस्पतालसँगै सुरिया हेल्थ केयर, सेन्ट्रल डाइनोष्टिक ल्यावोटरीले नक्कली रिपोर्ट दिएको खुलेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार छानबिन समितिलाई २४ घण्टाभित्र सत्यतथ्य छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ। छानबिन समिति सदस्य गौतम निजी क्षेत्रबाट सञ्चालिन डिकोड ल्याबमासमेत आवद्ध छन् ।  

कोरोनाको गलत रिपोर्ट लिएर गएका कारण नेपाल एयरलाइन्स हङकङ र युएईमा प्रतिबन्ध भइसकेको छ । नेपाल वायुसेवा निगमको २ अक्टोबरमा काठमाडौंबाट हङकङका लागि गरिएको उडानमा ५ जना र १९ अक्टोबरमा काठमाडौं–हङकङ उडानमै ९ जना यात्रुमा त्यहाँ पुगेपछि पोजिभिट देखिएको थियो ।

त्यसैगरी काठमाडौं दुबईको नियमित उडानमा समेत पीसीआर परीक्षण नेगेटिभ आएका आधारमा यात्रा गर्दा पुनः परीक्षण गर्दा पोजिटिभ देखिएको थियो ।