|  

सिरहामा छठघाटबाट कटुवा पेस्तोलसहित एक युवक पक्राउ

६ मंसिर, जनकपुरधाम । सिरहामा छठको घाटबाट एक युवक कटुवा पेस्तोलसहित पक्राउ परेका छन् । शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइरहँदा औरही गाउँपालिका वडा नम्बर ५ स्थित पोखरीबाट स्थानीय २२ वर्षीय रविन दास पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार दासको साथबाट एक राउण्ड गोली लोड गरिएको एउटा कटुवा पेस्तोल बरामद भएको छ । सोही पेस्तोलमा लाग्ने थप २ राउण्ड गोली पनि बरामद भएको छ ।

आफ्ना छिमेकी ४२ वर्षीय बिनोद यादवलाई आक्रमण गर्ने योजनाअनुसार रविन पेस्तोल बोकेर छठघाटमा गएको सूचनाअनुसार प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले बिनोदको कन्चटमा पेस्तोल ताकेको अवस्थामा प्रहरीले पक्राउ गरेको प्रत्यक्षदर्शीले बताएका छन् । बिनोदसँग पुरानो रिसइबी रहेको र सोही रिसइबी साँध्न रविनले पेस्तोल लिएर गएको स्थानीयको भनाइ छ ।