|  

सरकार एकपक्षीय बन्दा भ्रष्टाचारहरु कारबाहीमा परेनन् : सभापति साह

१३ मंसिर,बुटवल - प्रतिनिधिसभा सदंसदको सार्वजनिक लेखा समितिका सभापति भरतकुमार साहले सरकार नै एकपक्षीय बन्दा भ्रष्टाचारमा मुछिएकाहरु कारबाहीमा नपरेको बताएका छन् । 

रिपोर्टर्स क्लव लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै साहले सरकार नै एकपक्षीय बन्दा भ्रष्टाचारमा मुछिएकाहरु कारबाहीमा नपरेको बताएका हुन् । उनले प्रधानमन्त्री केपी ओलीले नै घुस प्रकरणमा मुछिएका गोकुल बाँस्कोटालाई अख्तियारबाट सफाइ दिलाएर मन्त्री बनाउन दबाब दिएको समेत दावी गरे । 

सभापती साहले भने  ‘प्रधानमन्त्री केपी ओली नै भ्रष्टाचारीको संरक्षणमा लागेका छन्, गोकुल बाँस्कोटाको कारबाही रोकेर अख्तियारबाट सफाइ दिलाएर मन्त्री बनाउन ओलीले नै दबाब दिएका छन् । सरकारले अरुलाई काम गर्न दिँदैन, सरकारसँग पैसा,शक्ति,पुलिस आर्मी,प्रशासन छ, नियुक्ति पनि त्यहीँबाट हुने भएकाले दबाब दिएपछि कसरी कारबाही हुन्छ रु’

त्यस्तै साहले सरकारले संसारभरको लोकतन्त्रको मूल्य र मान्यता बिर्सिएको समेत आरोप लगाए । सरकारको ध्यान भ्रष्टाचार गर्ने बाहेक अरु नदेखिएको भन्दै सभापति साहले अहिलेको नेकपाको आन्तरिक किचलो पनि भ्रष्टाचारकै सवाल भएको आरोप लगाए । साहले नेकपाभित्रको आन्तरिक द्वन्द्व र सरकारको भ्रष्टचारका कारण देश बर्बादीको दिशामा गएको समेत धारणा राखेका थिए । नेकपाका लफडा राष्ट्रिय मुद्दामा नभएको उनको दावी थियो ।

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका साहले नेकपाले ५ वर्ष जनताको म्यान्डेड पाएको हुँदा नेपाली कांग्रेसले सत्ता साझेदारी नचाहेको समेत स्पष्ट पारे ।