|  

इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर सिटी र बर्नले भिड्दै

१३ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आज राति घरेलु मैदानमा बर्नलीसँग प्रतिस्पर्धा गर्दैछ । खेल राति ८ः४५ बजे इतिहाद स्टेडियममा हुनेछ ।

प्रिमियर लिगमा औसतको प्रदर्शन गर्दै १४औं स्थानमा रहेको सिटी बर्नलीलाई पराजित गर्दै आफ्नो पुरानो लयमा फर्कने अभियानमा हुनेछ । सिटीले ८ खेल खेल्दा समान ३ जित र बराबरी तथा २ हारबाट मात्रै १२ अंक जोड्न सकेको छ ।

सिटी शीर्ष स्थानको टोटेनहमसँग ८ अंकले पछि परिसकेको छ । यस्तोमा सिटी अंक तालिका सुधार गर्नको लागि पनि बर्नलीलाई हराउन आवश्यक छ । बर्नलीविरुद्ध सिटीका सर्जियो अगुइरो, ग्रावियल जेसस, फेरान टोरेस, रहिम स्ट्रलिङ, केभिन डि ब्रुयन, फर्नान्डिन्हो, रोड्री, रुवेन डियास, केल वाल्कर, एमेरिक लापोर्ट जोओ क्यान्सेलो र गोलरक्षक एडर्सन मोराइस टोलीमा हुनेछन् ।

यता, बर्नली पनि सिटीलाई स्तब्ध पार्दै रेलिगेसन जोनबाट माथि उठ्ने दाँउमा हुनेछ । बर्नली ५ अंक जोडेर १७औं स्थानमा रहेको छ । बर्नलीका लागि क्रिस वुड, जे रोड्रिग्वेज, एस्ले वेस्टवुड र चार्ली टेलरजस्ता खेलाडीहरु रहेका छन् ।

यि दुई टोली १३ पटक आमने सामने हुदा १० खेल सिटीले आफ्नो पक्षमा पारेको छ । २ खेल बराबरीमा सकिदा १ खेल बर्नलीको पक्षमा छ । बर्नली मार्च २०१५ मा भएको प्रिमियर लिगमा१–० ले हराएयता सिटीमाथि जित निकाल्न सकेको छैन ।

अन्य खेल : एभर्टनविरुद्ध लिड्स (राति ११ः१५ बजे), वेस्टब्रुमविरुद्ध सेफिल्ड (राति १ः४५ बजे)