|  

नव निर्वाचित ढकालले भने– प्यानल तोडेर व्यवसायीको हितमा काम गर्छु

१४ मंसिर, काठमाडौं । उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा नव निर्वाचित चन्द्र ढकालले आफूले सम्पूर्ण व्यवसायीहरुको प्रतिनिधित्व गरेको र आफ्नो जीत व्यवसायीको जीत भएको बताएका छन् । प्यानल बनाएर निर्वाचनको मैदानमा उत्रिएका ढकालले मतपरिणाम घोषणासँगै आफूले प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाएका हुन् । 

उनले भने, “मैले योभन्दा पहिला पनि भनेको थिएँ । हामीहरुको पक्ष विपक्ष भनेको १३ गते सँंझसम्म मात्रै हो । आजदेखि हाम्रो पक्षविपक्षभन्दा पनि सम्पूर्ण निजी क्षेत्रको आवाज उठाउने हो । निर्वाचित हामी सबैले व्यवसायिका सम्बन्धमा एउटै आवाज उठाउनेछौं भन्ने जानकारी गराउन चाहन्छु । निजी क्षेत्रले नियमनकारी निकायसँग गर्ने एड्भोकेसी हामीले गर्नेछौं । मेरो जीत भनेको सम्पूर्ण व्यवसायिक साथीहरुको प्रतिनिधिको रुपमा भएको छ ।”

उवासंघको ५४ औ वार्षिक साधारण सभामा शनिवार भएको निर्वाचनमा निकटतम प्रतिद्धन्द्धी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । वस्तुगततर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा एसोसियटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भएका छन् । 

एसोसियटतर्फको उपाध्यक्षमा विजयी रामचन्द्र संघाईले उद्योगहरुमा आइपरेका समस्या र श्रमिकको समस्या समाधानका लागि आफ्नो पहल हुने प्रतिक्रिया दिए । उनले उनले निर्यातमुलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरि निर्यात बढाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताए ।
 
जिल्ला नगरतर्फको उपाध्यक्षमा विजयी दिनेश श्रेष्ठले जिल्ला नगर वाणिज्य संघहरुलाई आफैंमा सवल र सक्षम बनाउनुका साथै व्यवसायिक ज्ञान वृद्धि लगायततर्फ आफ्नो पहल हुने बताए । 

साना व्यवसायी र मझौला व्यवसायीलाई सक्षम र सवल बनाउँदै पूँजीमा पहुँच स्थापित गर्नेतर्फ आफ्नो प्रयास हुने उनको प्रतिबद्धता छ । 

वस्तुगततर्फको उपाध्यक्षमा विजयी अन्जन श्रेष्ठले वस्तुगत संघको विश्वासमा आफूले निर्वाचन जितेकाले उनीहरुका हितका लागि काम गर्ने प्रतिवद्धता जनाए । उनले लगानीको अवसर र वातावरणसँगै सुरक्षाको वातावरण मिलाउन विशेष पहल गर्ने बताए । “कोरोनाको कहर सकिएको छैन । विस्तारै जनजीवन सामान्य र व्यवसाय पनि चल्दै गएको छ । कोरानो बढ्दै गएमा आर्थिक वृद्धि ऋणात्मक हुनेछ । यसमा निजी क्षेत्रको सबै भन्दा ठूलो भूमिका छ । सरकारले केही गर्दैन भन्ने बुझिसकिएको छ । सरकारसँग सिमित साधन र स्रोत छ । सरकारसँग हामीले लगानी गर्ने अवसर र वातावरण खोज्ने हो,” उनले भने, “त्यसका लागि नीतिगत स्पष्टता र निरन्तरता चाहिन्छ । लगानीका लागि वातावरण हुनुपर्यो । लगानी सुरक्षा हुनुपर्यो । सम्पूर्ण वस्तुगत संघहरु र सम्पूर्ण उद्योमी व्यवसायीको समस्या यही हो । यही समस्यालाई हामी समाधान गर्नतर्फ अगाडि जाने हो ।”