|  

डा.गोविन्द केसी काठमाण्डौं फर्किंदै : अव कहाँ बस्लान अनशन

५ असोज, काठमाण्डौं - कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने लगायतका ६ बुँदे माग राख्दै जुम्लामा अनशन सुरू गरेका डा.गोविन्द केसी आज काठमाडौं फर्कँदै छन् । 
आज मंगलबार ११ः२५ को उडानमार्फत् उनी काठमाडौं आउन लागेका हुन् । काठमाडौं आउन, डा.केसी हिजो नै नेपालगञ्ज आइसकेका थिए । 
डा.केसीको यो १९ औं पटकको अनशन हो । उनले अनशन सुरू गरेको ९ दिन पुगिसकेको छ । काठमाडौं फर्किएर पनि अनशन जारीनै राख्ने उनले बताएका छन् । काठमाडौंमा कुन ठाउँमा अनशन सुरू गर्ने भन्नेबारे निश्चित भने भइसकेको छैन । 

दुई वर्ष अघि जुम्लामा सत्याग्रह बसेका डा. केसीलाई काठमाडौँ ल्याउने क्रममा झडप हुँदा अस्पतालमा तोडफोडसमेत भएको थियो । उक्त घटना नदोहोरियोस् भनी आफू काठमाडौँ फर्किन लागेको सोमबार डा.केसीद्धारा सोमबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘दुई वर्ष अगाडि हामी सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा जसरी राज्यले आतङ्क फैलाउँदै हिंसा र तोडफोड ग¥यो, अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म उनै पात्रहरू पदमा छन् । त्यसैले फेरि त्यसै खालको हिंसा र आक्रमण नहोस् भनेर हामीले जुम्लादेखि काठमाडौँसम्म यात्रा गरेर उहीँबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौँ ।’ 

डा. केसीले पछिल्लो पटक गता भदौ २९ गतेदेखि १९ औँ सत्याग्रह सुरु गरेका थिए । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने लगायतका ६ बुँदे माग राखेर जुम्लाको चन्दननाथ ६ रानी चौरमा रहेको वाविरा मन्दिरमा सत्याग्रह सुरु गरेका हुन् । 

त्यस्तै डा. केसीले गत ०७५ साउन १० को सरकारले आफुसंग गरेको सहमति कार्यान्वयन गर्नुपर्ने, चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, त्रिवि चिकित्सा शास्त्रमा बरिष्ठता मिचेर भएको नियुक्ति सच्याउनुपर्ने लगायतका मागहरू समेत राखेका छन् ।