|  

शिक्षकलाई विद्यालय पुग्न निर्देशन, कक्षा १२ को परीक्षा छिट्टै हुने

असोज ११, काठमाडौं  । वैकल्पिक विधिको सिकाइ शिक्षकको सक्रियतामा निर्भर रहने भएकोले सरकारले तत्काल आफू सेवारत विद्यालयमा पुग्न सामुदायिक विद्यालयका शिक्षकलाई निर्देश गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षककै वरिपरि रहेर वैकल्पिक विधिको सिकाइ अगाडि बढ्ने भएकोले शिक्षकहरू तत्काल विद्यालयमा पुग्नुपर्ने बताए ।

शिक्षा पत्रकार समाजले शनिबार आयोजना गरेको भर्चुअल संवादमा मन्त्री पोखरेलले शिक्षकको कोरोना भाइरस बीमा गरिएको स्पष्ट गर्दै सम्बद्ध जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी शिक्षकहरू तत्काल विद्यालयमा पुग्नुपर्ने बताए । शिक्षक विद्यालयमा नपुगेसम्म वैकल्पिक विधिको सिकाइ सफल हुन नसक्ने उनको भनाइ छ । अभिभावकसँग सम्पर्क कायम गरी सिकाइ सहजीकरण निर्देशिका र विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजनाको कार्यान्वयनमा जुट्न उनले आह्वान गरे ।

सरकारले न्यूनतम शुल्क लिन सक्ने गरी निजी विद्यालयलाई बाटो खोलिदिएको स्पष्ट गर्दै मन्त्री पोखरेलले स्थानीय तहसँगको समन्वयमा शुल्कको विषय कार्यान्वयनमा ल्याउन आग्रह गरे । न्यूनतम सिकाइको सुनिश्चितता गर्दै समयमै शैक्षिक सत्रको सदुपयोग गर्ने योजना रहेको उनले जानकारी दिए । सङ्क्रमणको कारण देखाउँदै विश्वका कतिपय मुलुकले शैक्षिक सत्र नै अगाडि नबढाउने घोषणा गरे ।

शिक्षकलाई विद्यालय...पनि नेपाल सरकारले भने विद्यार्थीको पढ्न पाउने हकको सम्मान गर्दै समय खेर जान नदिने प्रयासमा जुटेको उनले बताए ।

तत्काल विद्यालय नखोलौँ
मन्त्री पोखरेलले कोरोना सङ्क्रमण नभएको स्थानमा विद्यालय खोल्ने कुरामा हतार नगर्न आग्रह गरे। कात्तिकसम्म कोरोना सङ्क्रमण बढ्ने अवस्था देखिएकोले तत्काल भौतिक रूपमा विद्यालय खोल्न हतार नगर्न र वैकल्पिक विधिबाटै सिकाइ बढाउन उनले स्थानीय सरकारलाई आग्रह गरे।

कक्षा १२ को परीक्षा छिट्टै
कक्षा १२ को परीक्षा छिट्टै गर्ने तयारी भइरहेको मन्त्री पोखरेलले जानकारी दिए । यस विषयमा मन्त्रिपरिषद्मा कुराकानी चलिरहेको जनाइएको छ । कुनै न कुनै रूपमा परीक्षा लिएर कक्षा १२ का विद्यार्थीको परीक्षा पार लगाउन योजना भइरहेको उनले जानकारी दिए । गोरखापत्रमा शेषकान्त पण्डितले लेखेका छन् ।