|  

सोलुखुम्बुमा हाईड्रोपवारको सुरुङभित्र ढुंगाले किच्दा एक मजदुरको मृत्यु 

१२ असोज, काठमाडौं । सोलुखुम्बुको निर्माणाधीन सुरुङभित्र ढुंगाले किचेर एक मजदुरको मृत्यु भएको छ । सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको निर्माणाधीन सुरुङ्भित्र ढुङ्गाले लागेर गम्भीर घाइते भएका मजदुरको उपचारका क्रममा मृत्यु भएको हो । 

निर्माणाधीन ८६ मेगावाटको हाईड्रोपवारको अडिट नं. ४ को सुरुङभित्र काम गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर शुक्रबार लिखुपिके गाउँपालिका–५ का ३६ वर्षीय रबि थामी घाईते भएका थिए ।गम्भिर घाइते भएका उनको उपचारका क्रममा काठमाडौंमा रहेको ग्राण्डी अस्पतालमा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

थामीको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरीले जनाएको छ ।