|  

मन्त्रीपरिषद् पुनर्गठनबारे पूर्वमन्त्री पौडेलले दिए ४ सुझाव

पूर्वयुवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले पछिल्लोसमय मन्त्रीपरिषद् पुनर्गठन गर्ने चर्चाको चलिरहँदा पार्टीअध्यक्ष तथा प्रधानमन्त्रीलाई सामाजिकसञ्जालमार्फत सरकारको गुमेको साख फिर्ता गर्न ४ बुँदे सुझाव दिएका छन् ।


उनले यसलाई अवसर रुपमा समेत उपयोग गर्न सकिने धारणा राखेका हुन् । पूर्वमन्त्री पौडेलका ४ बुँदे सुझावहरु यस्ता छन्;


१. संविधानको प्रावधानअनुसार सङ्घीयसंसद्का सदस्यमध्येबाट समावेशी सिद्धान्तबमोजिम प्रधानमन्त्रीसहित बढीमा २५ जनाको मन्त्रिपरिषद् गठन गर्न पाईन्छ । मन्त्रिपरिषद् पुनर्गठनको आधार व्यवहार मै योग्यता र समावेशीतालाई बनाउन सक्नुपर्छ ।

२. भर्खर गुटबन्दी नगर्ने कसम खाएका नेताहरूले गुटको भागबण्डाका मिलाउनको लागि मन्त्रालय टुक्र्याउनु पनि संविधानको मर्मविपरीत हुन्छ । मन्त्रालयको सङ्ख्या कम गर्नुपर्नेमा गुट व्यवस्थापनका नाममा मन्त्रालय टुक्र्याउँदा त्यसबाट सरकारको साख र विश्वास झनै धुमिल हुन्छ । तसर्थ मन्त्रालय टुक्र्याउनतिर लाग्नु उचित हुँदैन । भएको मन्त्रालयमै सबै व्यवस्थापन गर्नु ठीक हुन्छ ।

३. यो सरकारको मुख्यध्येय 'सुखी नेपाली, समृद्ध नेपाल' हो । यो नाराको धागो पकडेर हिँड्ने सोच क्षमता र ल्याकत भएको नेतालाई मात्र पुनर्गठनमा समेट्न सक्नुपर्छ । र

४. विषयगत रूपमा जानकार भएका र कम्तीमा मन्त्रालयको प्रभावकारी रोडम्याप र योजना बनाएर जनतालाई डेलीभरी दिनसक्ने कला भएका नेता छनोट गर्नुपर्छ ।


उनले अगाडि भनेका छन्, सारमा, केका लागि पुनर्गठन ? भागबण्डाका लागि या सरकारको गुमेको साख फर्काउन ? प्रस्ट हुनुपर्छ । पुनर्गठन सरकारको गुमेको साख फिर्ता गर्न सक्नेगरी गर्नुपर्दछ ।