|  

जापानमा हतियारसहित एक नेपाली युवा पक्राउ

१४ असोज, काठमाडौं । जापानमा हतियारसहित बाटोमा हिँड्दा एक नेपाली युवा पक्राउ परेका छन् । बन्दुक तथा तलबारसँग सम्बन्धित नियमको उल्लंघन गर्दै सडकमा चक्कु बोकेर हिँड्दा प्रहरीले पक्राउ गरेको हो । 

जापानको गिफु प्रिफेक्चरको गिफु शहर निशिनोमाचीबाट प्रहरीले २३ वर्षीय एक नेपाली युवालाई पक्राउ गरेको खबर गिफु सिन्बुनले आफ्नो अनलाइन संस्करणमा लेखेको छ ।

हाल पेशा नखुलाइएका ती युवा सेप्टेम्बर २८ तारिख बिहान ७ बजेर ५० मिनेटको समयमा पक्राउ परेका हुन् ।

६ सेन्टिमिटर लामो चक्कु भान्सामा प्रयोग हुने खालको भएको बताइएको छ । प्रहरीले पक्राउ गरी चक्कु बोकेर हिँड्नुको कारण सोधपुछ गर्दा उनले स्पष्ट हुने आधार दिन नसकेको समाचारमा दाबी गरिएको छ ।

प्रहरीमा छिमेकी एक महिलाले एक व्यक्ति चक्कु बोकेर सडकमा हिँडेको र धेरै व्यक्ति डराएको भनी टेलिफोनमा उजुरी दिएपछी पक्राउ गरिएको बताइएको छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिले कसैलाई तर्साएको वा धम्याएको नपाइएको बताउँदै घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।