|  

काभ्रेपलाञ्चोकमा बोधीचित्तको रुख काटेको आरोपमा ४ जना पक्राउ

३ बैशाख, काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधीचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेको प्रहरीले जनाएको छ । उक्त समूहले गत बिहीबार राति विस्फोटक पदार्थसहित नागबेलीस्थित ठाकुरानी तामाङको बगैंचामा रहेको बहुमूल्य बोधीचित्तको एउटा रुख काटेको थियो । फूल फुल्दै गरेको बोधिचित्तको रुख काटिएको थियो । उक्त रुखमा फल्ने बोधीचित्त दाना यस वर्ष रु तीन करोडमा बिक्री गर्न बैना गरिएको थियो ।

बिहीबार राति करिब १ बजे हातहतियारसहित आएका झण्डै २० जनाको समूहले डरत्रास देखाउँदै बोधीचित्तको रुख काटेको थियो । मैनाली र दुर्गालाललाई काभ्रेपलाञ्चोकको बनेपाबाट आइतबार पक्राउ गरेको हो भने प्रभातलाई शनिबार काठमाडौंको वनस्थलीबाट र मानबहादुरलाई रुख काटेकै दिन पक्राउ गरिएको  थियो । प्रभात र मानबहादुरको म्याद थप गरी अनुसन्धान थालिएको छ। अन्य दुई जनाको म्याद थप गरी थप अनुसन्धान थालिने छ।