|  

लमजुङ क्याम्पसमा दुई महिनादेखि पठनपाठन ठप्प

५ बैशाख, काठमाडौं । लमजुङको सुन्दरबजारस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसमा विगत दुई महिनादेखि पठनपाठन ठप्प भएको छ ।

विद्यार्थी सङ्गठनहरूको आन्दोलनका कारण लमजुङ क्याम्पसमा सम्पूर्ण शैक्षिक गतिविधिहरू अवरुद्ध बनेको हो । गत माघ २७ गते लमजुङ क्याम्पसको पुरुष छात्रावासमा नेविसंघ र अनेरास्ववियुबिच झडप हुँदा सोही क्याम्पसका उपप्राध्यापक अमित खनालसहित १५ जना विद्यार्थी घाइते भएका थिए ।

उक्त घटनापछि असुरक्षाको कारण देखाउँदै क्याम्पस प्रशासनले क्याम्पसमा पठनपाठन बन्द गरेको थियो । लामो समयसम्म क्याम्पसमा पठनपाठन सुचारु नहुँदा पनि क्याम्पस प्रशासनले कुनै निर्णय लिन सकेको छैन ।