|  

यस्ती देखिइन बेहुली बन्दा एलिना !

०५ बैशाख, काठमाडौं । धोकेवाज गायिका समेत भनेर चिनिने चर्चित गायिका एलिना चौहान आज विवाह बन्धनमा बाधिएकी छिन् । 

बाग्लुङका विष्णु सापकोटासँग झण्डै दुई वर्षदेखिको प्रेमलाई उनले विवाहमा परिणत गरेकी हुन् । विवाह समारोह एलिनाको गृह जिल्ला झापाको बिर्तामोड स्थित बिर्ता पार्टी प्यालेसमा आयोजना भएको छ । मंगलबार अर्थात हिजो उनको मेहन्दी समारोह आयोजना भएको थियो । जसमा उनी निकै खुसी देखिएकी थिइन ।

आज हिन्दु परम्पराअनुसार उनको विवाह गरिँदैछ । अष्ट्रेलियामा बस्दै आएका उनका प्रेमी विष्णु पेसाले व्यवसायी हुन । उनको मायालु फुड, मायालु फर्निचर, मायालु इन्टरटेन्मेन्टलगायत कम्पनी छन । उनले एलिनासँग केही म्युजिक भिडियोमा समेत काम गरिसकेका छन । साङ्गीतिक कार्यक्रमकै सिलसिलामा चिनजान भएका उनीहरु झण्डै दुई वर्ष अघिदेखि भने प्रेममा थिए । बीचमा सम्बन्ध ब्रेक अप भएको हल्ला चलेपनि पुनः प्याचअप गरेर उनीहरु विवाह बन्धनमा बाधिन लागेका हुन् ।

एलिनाकी आमा गाउँघरमा भजन गाउँथिन । आमाको प्रभावले संगीत यात्रामा लागेकी उनी सुरुमा कभर गीत गाएर चर्चा बटुलिन । कालीप्रसाद बास्कोटाको स्वरमा रहेको ‘इन्स्टाको फोटो’ मा कभर रिप्लाई दिएर चर्चा कमाएकी एलिनालाई त्यसपछि भने पछाडी फर्केर हेर्नुपरेको छैन । उनले ‘बरी लै’ गीतको कभर गर्दा त झन ‘ओरिजिनल’ गीत भन्दा बढी भ्यूज मिलेको थियो । कभर गीतको चर्चापछि उनले ‘के माया लाग्छ र’ गीत स्टुडियोमा रेकर्ड गरिन । त्यो गीत यति धेरैलाई मन र्पयो कि त्यसपछि भने उनी सबैको नजरमा पर्न थालिन । उनले अहिलेसम्म सयौँ गीत गाइसकेकी छन् । उनका धेरैजसो गीतले दर्शकको माया पाइरहेका छन् । जसहिसावले अहिले उनी सफल गायिकाको सूचीमा पर्छिन ।