|  

पढेका मानिसको उपस्थितिले संसदमा फरक अर्थ राखेको छः सीके राउट

११ बैशाख, काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सीके राउतले जुनसुकै क्षेत्रमा नेतृत्व गर्ने व्यक्तिले पढ्नु एकदमै आवश्यक भएको बताएका छन् ।

कर्णाली लिट्रेचर फेस्टिभल (कर्णाली साहित्य महोत्सव) मा आज ‘नेतृत्व र पठन’ विषयक सत्रमा राउतले नेतृत्व वर्गले आफू र नागरिकका लागि ज्ञान लिन जरुरी रहेको बताएका हुन् । उनले नेतृत्व वर्गले सामाजिक, आर्थिक लगायत देश–विदेशको अवस्थाका बारेमा जानकार हुनुपर्नेमा जोड दिए । अहिलेको सूचना प्रविधिको युगमा पढ्ने प्रचलन कम भएको राउतको भनाई छ । मानिसले बर्षमा कति किताब पढ्छ र कस्ता किताब पढ्छन भन्ने कुराले व्यक्तित्व झल्काउने राउतको भनाइ छ । हिजोआज धेरैले ‘पढेलेखेकाहरुले देश बिगारे’ भन्ने गरेको भन्दै उनले पढेलेखेका मानिसहरुको कदर नभएको धारणा राखे ।

साथै उनले अहिलेको सरकार संसदप्रति जिम्मेवार नभएको पनि टिप्पणी गरे । पहिलेका तुलनामा अहिले संसदमा सैद्धान्तिक छलफलको महत्व घटेको पनि उनको भनाइ छ । संसदमा पनि पढेका मानिसको उपस्थितिले फरक अर्थ राख्ने गरेको अनुभव सुनाए ।