|  

गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ

१२ बैशाख,काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ ।

गण्डकी प्रदेशमा एमाले संसदीय दलका नेता खगराज अधिकारी सभामुखसहितको हस्ताक्षरमा मुख्यमन्त्री बनेपछि नेपाली कांग्रेसले त्यसविरुद्ध रिट दायर गरेको थियो ।यसअघि उक्त रिटमा चैत्र २८ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले मुख्यमन्त्री अधिकारीलाई दीर्घकालिक असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।

यस्तै वैशाख ७ गतेभित्र लिखित जवाफ पेस गर्न सरकारी पक्षलाई सर्वोच्चले आदेश गरेको थियो भने मुख्यमन्त्रीमा अधिकारीलाई नियुक्त गर्दाका सम्पूर्ण कागजात पनि झिकाउने आदेश भएको थियो ।

त्यसपछि सोमबार भएको सुनुवाई हेर्दाहेर्दैमा परेको थियो ।गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले चैत २७ गते दायर रिटमा अन्तरिम आदेश माग्दै संविधान र कानुनविपरीत भएको सरकार गठनको प्रक्रिया रोक्न माग गरेका छन् ।