|  

नेपालमा भित्रियो चार्ज सकिंदा ब्याट्री नै फेर्न मिल्ने स्कुटर  

१५ बैशाख, काठमाडौं ।  ब्याट्री स्वापिङ इकोसिस्टमको अग्रणी ताइवानी कम्पनी गोगोरो आधिकारिक रूपमा नेपाल भित्रिएको छ ।

शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै नेपालका लागि गोगोरोको आधिकारिक साझेदार नेबुला इनर्जी प्रालिले ‘गोगोरो ब्याट्री स्वापिङ’ र ‘गोगोरो क्रसओभर स्मार्ट स्कुटर’सार्वजनिक गरेको हो । गोगोरो स्मार्ट ब्याट्रीहरूमा केही सेकेन्डमै स्वाप एन्ड गोको सुविधाजनक पहुँच प्रदान गर्न ब्याट्री स्वापिङ अप्टिमाइज गरिएको छ ।

त्यस्तै गोगोरोको क्रसओभर स्मार्ट स्कुटर जीएक्स २५० (CrossOver Smartscooter GX250) नेपालका राइडरहरूलाई लक्षित गरी ल्याइएको कम्पनीले जनाएको छ । यसमा फराकिलो सिट र स्टोरेज स्पेस तथा राम्रो ग्राउन्ड क्लियरेन्स भएको कम्पनीको भनाइ छ । नेबुलाले यसै वर्ष कर्पोरेट ग्राहकका साथै रिटेल बजारमा पनि स्मार्ट स्कुटर उपलब्ध गराउने बताएको छ । हाल रणनीतिक साझेदारको रूपमा रहेका फुडमाण्डु, जुमजुम राइड, गल्ली म्याप्स लगायतलाई यो स्कुटर उपलब्ध गराइने कम्पनीले जनाएको छ । इच्छुक सर्वसाधारणले भने आउँदो दशैंदेखि मात्रै यो स्कुटर खरिद गर्न सक्नेछन् ।

रिटेल बजारमा उपलब्ध हुने बेलामा मात्र यसको मूल्य सार्वजनिक गरिने कम्पनीले जनाएको छ । यसले एक पटकको चार्जमा १५० किलोमिटर रेञ्ज दिनेछ । स्कुटरमा २.५ किलोवाट क्षमताको मोटर समावेश छ । यसको टप स्पिड ६० किलोमिटर प्रतिघण्टा रहेको छ । नेपालमा मूल्य नखुलाइए पनि भारतमा एक लाख २० हजार भारुमा यो स्कुटर खरिद गर्न सकिन्छ । ब्याट्री स्वापिङ एक नयाँ तरिका हो, जसमा फुल चार्ज भएको ब्याट्रीलाई साट्न सकिन्छ । यसले प्रयोगकर्तालाई आफ्नो सवारी साधनको दायरा विस्तार गर्न छिटो र प्रभावकारी तरिका प्रदान गर्ने कम्पनीको तर्क छ ।