|  

तापक्रम अझै बढ्ने भन्दै जारी भयाे पाँचदिने चेतावनी

१५ बैशाख, काठमाडौँ । एक हप्तायता देशभर दिनप्रतिदिन तापक्रम बढिरहेको र आगामी ५ दिन विशेषगरी तराई क्षेत्रमा अत्यधिक गर्मी भई तातो हावा चल्ने सम्भावना रहेकाले यसको असरबाट बच्ने उपाय अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

शनिबार (वैशाख १५ गते) अपराह्न ४ बजे ‘विशेष बुलेटिन : तातो दिन तथा तातो लहर सम्बन्धी बुलेटिन–२’ जारी गरी मौसम महाशाखाले वैशाख १६ देखि २० गतेसम्म तराईमा तातो हावा चल्ने तथा पहाडका समेत उपत्यका र खोँचमा तापक्रम वृद्धि हुने भएकाले सजग रहन सुझाव दिएको हो। 

महाशाखाका अनुसार केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ। लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि उक्लिएको छ। 

‘आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ’, विशेष बुलेटिनमा भनिएको छ, ‘तसर्थ, ती भूभागमा आगामी ५ दिन (वैशाख १६ गतेदेखि २० गतेसम्म) तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

साथै पहाडी भूभागका पनि उपत्यका तथा खोँचमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना रहेकाले मौसम महाशाखाबाट जारी हुने सूचना तथा बुलेटिन नियमित रूपमा हेर्न आग्रह गरिएको छ।