|  

रामेछाप प्रशासनद्वारा मन्थलीका २ मेडिकल पसल बन्द

१९ बैशाख, काठमाडौं ।  अनुमति नै नलिई औषधि बिक्री–वितरण गर्दै आएका दुई वटा औषधि पसललाई जिल्ला प्रशासन कार्यालय रामेछापले सिल गरेको छ ।

औषधि व्यवस्था विभागका प्रतिनिधिसहितको अनुगमन टोलीले हिजो सदरमुकाम मन्थलीमा औषधि पसल तथा अस्पताल अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा औषधि बिक्रेताहरूले नागरिकको स्वास्थ्यजस्तो संवेदनशील कुरामा खेलबाड गरी बिक्री गर्न अनुमति नै नलिएका औषधिहरू आफूखुशी बिक्री–वितरण गर्दै आएको पाइएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।

धेरै औषधिहरू स्टोरमा सञ्चय गरी राखेको भेटेपछि दिपसन फार्मेसी र साँकुरा मेडिकल सिल गरिएको हो ।