|  

तीन संसदीय समितिको बैठक बस्दै

२० बैशाख, काठमाडौं । संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छ ।

जस अनुसार आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा शान्ति प्रक्रिया, संक्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म भएका कामकारबाही र सो सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको भावी कार्ययोजनाका सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

यस्तै, बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा राष्ट्रिय राजमार्ग र राष्ट्रिय गौरवका आयोजनाहरु र बुटवल–नारायणगढ सडक, नागढुङ्गा–मुग्लिन सडक, मुग्लिन–पोखरा सडकको बारेमा छलफल हुने उल्लेख गरिएको छ।

यता शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ बजे बस्ने भएको छ । बैठकमा सार्वजनिक सेवा प्रशारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथि छलफल हुनेछ ।