|  

बलात्कारीलाई मृत्युदण्ड !

बलात्कारीलाई मृत्युदण्ड दिनुपर्दछ भन्ने यसअघि राखेको तर्कमा केही विमति पाएँ । ती विमतिप्रति मेरो सम्मान छ । निश्चय नै कुनै पनि मानिसको जीवन अमूल्य हुन्छ । त्यो जीवनको रक्षा हुनुपर्दछ भन्ने सोंच सकारात्मक हो । तर उहाँहरुको तर्कमा बलात्कारपछि हत्या गरिएकी चेलीको जीवनरक्षा र उनको जीवनको मूल्य खोइ भन्ने प्रश्नमा चाहिँ उहाँहरु मौन पाएँ ।

कतिपयले तर्क राख्नु भएको छ कि, देवदेवीका मन्दिरहरुमा वा अन्य अवसरमा देवताका नाममा र अन्य विभिन्न बहानामा गरिने जीवहत्याको चाहिँ विरोध गर्ने तर मृत्युदण्डको वकालत गर्ने ? ती प्राणीको जीवनरक्षाको कुरा उठाउनेले मानवको स्वरुपमा उभिएको हत्यारा- बलात्कारीको जीवनरक्षाको कुरा किन नगरेको भन्ने तर्क पनि आए ।

चेलीको बलात्कारपछि हत्या गरिएको छ । एक व्यक्तिले सम्पूर्ण सत्ता आफ्नो हातमा लिएर आफ्नो वासनाको तृप्ति गरिसकेपछि बालिकालाई दण्ड दिएको छ । अर्थात् मृत्युदण्ड दिएको छ ।

अर्को तर्क आएको छ कि, उक्त बलात्कारी/हत्याराको मानवअधिकार चाहिँ रक्षा हुनुपर्दछ । विश्वका कैयौं सन्धिहरुमा हामीले पनि हस्ताक्षर गरेका छौं । त्यसैले त्यो हत्यारा र बलात्कारीको रक्षा गर्नु सम्पूर्ण मानवको कर्तव्य हो । होईन भने हामी विश्वसमुदायबाट अलग्याइन्छौं । हामीले मानवअधिकारको उल्लङ्घन गरेको ठहरिन्छ ।

मैले बलात्कारी र हत्यारालाई मृत्युदण्ड दिनुपर्दछभन्दा पनि मैले त नैतिक र चारित्रिकशिक्षा दिएर पुरुषहरुलाई चेतनशील बनाऔं; नारीको जीवनको सम्मान गर्न सक्नेगरी तालिम दिऊँ भन्नेमा बढी जोड दिएको छु । यति सबै गरिसकेपछि समाज सभ्य र सुसंस्कृत बन्दछ र यस्ता बलात्कार र हत्याका घटनाहरु घट्दैनन् भन्ने अपेक्षा गरेको छु । मानव भनेको विवेकशील, चेतनशील, बुद्धिमान हुन्छ । आफ्ना वरिपरिका अन्य मानव र जीवजन्तुको हित सोच्न सक्दछ । केवलस्वरुप मान्छेको हुँदैमा मात्र मानव कसरी मान्न सकिन्छ, गुण मान्छेको नभएपछि ? भनेको छु ।

सानी बालिकालाई यौनाङ्गको प्रयोजन पिसाब गर्नु हो भन्ने मात्र थाहा छ । पुरुषको यौनाङ्गले च्यातेर रक्ताम्य भई असह्य वेदनाले छट्पटिएर बेहोस भईसकेपछि पनि त्रिशुलले रोपेर मारिदिने पुरुषको जीवनरक्षाका पक्षमा यो पंक्तिकार कहिल्यै पनि हुन सक्दैन । कमसेकम १६ वर्षभन्दा कम उमेरका बालिका बलात्कारीको यौनाङ्गलाई ढुङ्गैढुङ्गाले थिचेर नष्ट गरी मृत्युदण्ड दिनुपर्दछ ।

पढाउँदा-पढाउँदै पनि, सिकाउँदा-सिकाउँदै मानवको मर्यादा कुल्चिएर बलात्कार गर्दछ भने त्यो मानव नै कसरी भईरहन सक्दछ । त्यो व्यभिचारी पुरुषको ठडिने अंगको आवेग सहनका लागि हरपल त्रसित हुँदै हिँडिरहनुपर्ने चेलीहरु ? घरबाट बाहिर गएकी चेली घामनअस्ताउँदै घर आइपुगिनन् भने पीर र सूर्ताले घरका मानिसहरुका ओठमुख सुक्दछ । किन ? कस्ले गर्दा ? यत्रतत्र सर्वत्र आँ ऽऽऽ गरेर मुख बाईरहेका दुष्टहरु दोबाटो र गल्ली ढुकेर बसेका छन् कि भनेर नै त हो ।

पुरुषप्रधानसमाजको उपज हो हजुर । नारीका ठाउँमा बसेर हेरौं त । त्यो यौनाङ्ग उनीहरुका लागि सजायँ बनेको छ । त्यो योनी अंग लिएर जन्मनु नै अपराध होजस्तो गरी स्थापित भएको छ । ती नारीको पीडा र त्यो आँखाभित्र भएका डर र त्रासहरु हामीले देखेका छौं ? त्यो पीडालाई महशुस गरेका छौं ? सानी बालिका हुँदादेखि वृद्धावस्थासम्म सम्भावित बलात्कारको पात्रजस्तो बनेर बाँचिरहेकी छिन् उनी । साना बालिकादेखि लिएर सत्तरी वर्षकी हजुरआमासमेत बलात्कृत हुन्छिन् । नारीस्वरुप भनेको त पुरुषको वासनाशमनको माध्यममात्र हो, जतिबेला जहाँ झम्टिए पनि हुन्छ भन्नेगरी समाजअगाडि बढिरहेको छ । यो कुरा मानवताको कसीमा हेर्दा लज्जास्पद छ । हामी स्वयंले स्वयंलाई सभ्यताका हिमायती हौं भन्न लाज मान्नुपर्ने अवस्था छ ।

त्यो अपराधीलाई के सजायँ दिने भन्ने कुरा तिनै बलात्कृतबालिकालाई सोधौं न । उनलाई भएको अन्यायको बारेमा मानवअधिकारको खोल ओढेको समाजलाई भन्दा बढी त तिनै बालिकालाई नै थाहा होला नि । अथवा उनलाई जन्मदिएकी उनकी आमालाई सोधौं- उनले स्वइच्छाले जे सजायँ भन्छिन् त्यही गरौं । हामीहरु ती बलात्कृत चेलीको आँखामा आँखा जुधाएर हेर्नसक्ने समाजको सिर्जना गरौं न । अनि स्वतः यस्ता मृत्युदण्डको कुरा हटिहाल्छ नि ।

एकजनाले तर्क राखे- बालिकाबलात्कारीलाई मृत्युदण्ड त ठीक हो । तर मृत्युदण्डको व्यवस्था भयो भने सोझा-साझालाई फँसाएर धनी र ठूलाबडा उम्किन्छन् । निर्दोष फाँसी चढ्दछ तर, वास्तविकअपराधी जोगिन्छ ।

यो तर्कको उत्तर त मसँग छैन । तर राज्यका हरेक प्रणालीप्रति शङ्का गर्नुपर्ने कस्तो खालको संयन्त्र हामीले विकास गरेका छौं भन्ने प्रश्नले चाहिँ खिन्न बनायो । हामी कहाँ छौं ? कस्तो समाजको निर्माण गरिरहेका छौं ? सोचौं त ।


(लेखक: पशुपतिक्षेत्र विकासकोषका सदस्य-सचिव हुन् ।)