|  

लोकतन्त्र विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा प्रदायकहरुको भुमिका महत्वपूर्णः महासचिव पोखरेल

१ जेठ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रकाविरुद्ध सूचना प्रविधिका माध्यबाट नियोजित रुपमा हुने हमला रोक्न सूचना प्रविधि प्रदायकहरुको भुमिका महत्वपूर्ण हुने बताएका छन् । 

नेपाल दूर सञ्चार राष्ट्रिय कर्मचारी संगठनको केन्द्रिय महाधिवेशन उद्घाटन गर्दै महासचिव पोखरेलले लोकतन्त्र र व्यवस्था विरोधी सामग्रीहरु कहाँबाट सञ्चालन भइरहेका छन् भनेर पत्ता लगाउन सूचना प्रविधि कम्पनीहरु सक्षम रहेको बताएका हुन् ।

पोखरेलले नकारात्मक प्रचारका सामग्रीहरु कहाँबाट प्रशारण हुन्छन् भन्नेकुरा पत्ता लगाउने सामथ्र्य सूचना प्रविधि प्रदायकहरुसँग रहेको स्पष्ट पारे । नेपालमा लोकतन्त्रलाई विकृत बनाउने र साना दलहरुले ठूला दलहरुमाथि शासन गर्ने र दुई सय ७५ सिट भएको संसदमा ३२ सिट लिएर पाँच वर्ष शासन गर्ने सपना देख्ने नेपालको लोकतन्त्रको अभ्यासलाई  रोक्नका लागि दुई ठूला दल मिल्नुपरेपको बताए ।  

महासचिव पोखरेलले प्रविधिको युगमा नियोजित ढंगले भाइरल बनाउने धन्दा कहाँ कहाँबाट भइरहेको छ भन्ने पत्ता लगाउन र राष्ट्र कमजोर पार्ने त्यस्ता गलत सूचनाहरु नियन्त्रण गर्न सूचना प्रविधि प्रदायक कम्पनीहरु सक्षम रहेको दावीसमेत गरे ।