२ जेठ, काठमाडौं । राजमार्गकेन्द्रित अभियान गरिरहेको माओवादी केन्द्रले आज (शुक्रबार)बाट पुष्पलाल मध्यपहाडी राजमार्गकेन्द्रित अभियान सुरू गर्दैछ।
त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैतडी पुगिसकेका छन् । बैतडीको पाटनबाट अभियानको थालनी हुनेछ । अभियानको उद्घाटन अध्यक्ष प्रचण्डले नै गर्नेछन् । विशेष गरेर यो अभियानमा नागरिकसँग संवादमा जोड दिने, स्थानीय समस्याहरू सुन्ने माओवादी केन्द्रले जानकारी दिएको छ ।
बैतडीबाट सुरू भएको अभियान आजै डोटीको दिपायल पुगेर जनसंवादमा परिणत हुनेछ । जेठ ३ गते अछामको मंगलसेन जनसंवाद हुनेछ भने जेठ ४ गते दैलेख सदरमुकाम दुल्लुमा जनसभा हुनेछ । जेठ ५ गते जाजरकोट खलगांमा जनसंवाद तय भएको छ।
जेठ ६ गते पश्चिम रूकुमको चौरजहारी जनसभा र मुसिकोट जनसंवाद हुने माओवादी केन्द्रले जनाएको छ । जेठ ७ गते पूर्वी रूकुमको रुकुमकोट जनसंवाद र रोल्पाको थवाङमा जनसभा हुने माओवादी केन्द्रले जनाएको छ । त्यस्तै जेठ ८ गते बागलुङमा जनसंवाद हुने र जेठ ९ गते पर्वतको कुश्मामा जनसंवाद हुनेछ । जेठ १० कास्की पोखरा आइपुग्नेछ र जनसभामा परिणत हुनेछ ।