०२ जेठ, काठमाडाैं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु नेतृत्वमा नेपाल दृढ रहेको बताएका छन् ।
आजबाट काठमाडौंमा शुरु भएको सगरमाथा संवाद कार्यक्रममा बोल्दै वनमन्त्री ठकुरीले कठिन चुनौतिका बाबजुद पनि नेपाल आफ्नो जलवायु नेतृत्वमा दृढ रहेको उल्लेख गरेका हुन् । उनले जलवायु कार्यलाई राष्ट्रिय योजनामा समाहित गर्दै न्याय-केन्द्रित दृष्टिकोणलाई अंगालेको बताए । उनले नेपालका राष्ट्रिय जलवायु परिवर्तन नीति र राष्ट्रिय अनुकुलन योजनाले कृषि, ऊर्जा, पानी, पूर्वाधार र जैविक विविधता केन्द्रित क्षेत्रीय रणनीतिहरु सहित जलवायु समानुकुलनतर्फ स्पष्ट मार्गचित्र प्रश्तुत गरेको बताए । उपेक्षित रहेका महिला, आदिवासी तथा युवाका आवाजलाई जलवायु बहसमा सुनिश्चत गर्दै स्थानीय अनुकुलन कार्ययोजना अन्तरगत विकेन्द्रीकृत आधारभूत खाकासहित स्थानीय जलवायु कार्यको अगुवाईका लागि स्थानीय सरकारहरूलाई सशक्त बनाइएको मन्त्री ठकुरीको दाबी छ । महिला तथा आदिवासी समुदायले धेरै हदसम्म नेतृत्व गरेको नेपालको सामुदायिक वन कार्यक्रमले कसरी प्रकृतिमा आधारित समाधानहरूद्वारा संरक्षण र मानव विकास दुबैमा योगदान दिनसक्ने बताए ।
मन्त्री ठकुरीले नेपालको समग्र दृष्टिकोण हरित अर्थतन्त्रतर्फको न्यायसंगत रुपान्तरण, जलवायु समानुकुलन पूर्वाधार निर्माण र दिगो जीविकोपार्जन हासिल गर्नेमा केन्द्रित रहेको दाबी गरे ।