|  

रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

२ जेठ, काठमाडाैं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र तीलप्रसाद श्रेष्ठको इजलासमा मुद्दाको सुनवाइ सकिएपछि यस्तो आदेश भएको उपरजिष्ट्रार निराजन पाण्डेले बताएका छन् ।

मिश्रलाई रिहा माग गर्दै पत्नी सारिकाले हालेको बन्दी प्रत्यक्षीकरण मुद्दामाथि सर्वोच्च अदालतमा बहस सकिएपछि आएको आदेशअनुसार हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका उनी रिहा हुनेछन् ।

यो मुद्दामा मिश्रको पक्षबाट सतीशकृष्ण खरेल, गोविन्द्र बन्दी र डा. भीमार्जुन आचार्यसहितले बसह गरेका थिए । सबै कानुन व्यवसायीले मिश्रलाई बाहिरै राखेर अनुसन्धानको माग गरेका थिए । चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनपछि पक्राउ परेका मिश्र हिरासतमा बसेको ५० दिन हुन लाग्दा रिहा हुने भएका हुन्।

बसहका क्रममा मिश्रले आफूमाथि राज्य लागेको बताएका थिए । उनले जानाजान आफूलाई हिरासतमा राखेको राख्यै गर्न खोजिएको गुनासो उनले गरेका थिए ।

मिश्रले आफ्नो सबै चिज प्रहरीसँग रहेको बताउँदै थुनिरहनु पर्ने कारण नै नभएको जिकिर गरेका थिए । ‘मेरो मोबाइल फोन प्रहरीसँगै छ । मेरो बैंक खाता पनि रोक्का छ। सबै सूचना पनि फेसबुकबाट मगाउनु भएकै छ । मैले अझैसम्म कति हिरासतमा राख्ने ? अब मेरो छाती चिरेर मुटु हेर्ने हो ? अझै के के हेर्नुहुन्छ ? म भागेर कहीँ जान्छु ?’, उनले भनेका थिए, ‘आजका दिनसम्म म स्वाभिमानसाथ हिँडेको मान्छे हो । मैले देशको कानुन मानिरहेको छु, कहिले तोडेको छैन । अहिले पनि मानिरहेको छु ।’

मिश्रले न्यायाधीशसामु आमाकोसमेत कसम खान भ्याए । ‘मेरी ८२ वर्षीया बिरामी आमाको नाममा कसम खान तयार छु । मैले राज्यविरुद्ध कसुरजन्य, संगठित अपराधजन्य र आपराधिक उपद्रवजन्य कहिले गरेको छैन । यदि छ भने प्रमाणित गर्नु भए हुन्छ’, उनले भनेका थिए ।