०३ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र जापानका उपविदेशमन्त्री इकुइनो अकिकोबीच आज भेटवार्ता भएको छ ।
सगरमाथा संवादमा सहभागिताका लागि हाल नेपालमा रहेकी उपविदेशमन्त्री अकिकोले सोही कार्यक्रमस्थल होटेल सोल्टीमा ‘साइडलाइन’ भेट गरेकी हुन । मन्त्री राणाले उपमन्त्री अकिकोलाई सगरमाथा संवादमा सहभागी भएकामा धन्यवाद व्यक्त गरेकी छन । साथै, उनले सिन्धुली-बर्दिबास बाटोको पुनर्निर्माण एवं मर्मत-सम्भारका निम्ति सहयोग गरेकामा जापान सरकारलाई धन्यवाद ज्ञापन गरिन । गत वर्ष अविरल वर्षाका कारण उक्त बाटोमा ठूलो क्षति पुगेको छ । जापान सरकारको अनुदानमा निर्मित त्यो बाटोको मर्मत तथा पुनर्निर्माणनिम्ति नेपाल सरकारले अनुरोध गरेपछि जापानले सहयोग गर्ने भएको छ ।
यस्तै, मन्त्री राणा र जापानी उपविदेशमन्त्रीबीच दुई देशको सम्बन्धका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।