|  

शिक्षकले च्याटजीपीटी प्रयोग गरेको फेला पारेपछि विद्यार्थीले फिर्ता मागिन् कलेज फी

४ बैशाख, काठमाडौं । आफ्ना प्राध्यापकले गोप्य रूपमा एआई टुल प्रयोग गरी नोट तयार गरेको थाहा पाएपछि अमेरिकाको एक विश्वविद्यालयकी विद्यार्थीले शिक्षण शुल्क फिर्ता गर्नुपर्ने माग राखेकी छिन् ।

नर्थइस्टर्न विश्वविद्यालयबाट यसै वर्ष स्नातक गरेकी एला स्टेपलटनले ‘बिजनेस’ विषयका प्राध्यापकको लेक्चरमा शङ्का लागेपछि औपचारिक उजुरी दर्ता गराएकी हुन् । स्टेपलटनका अनुसार उनले प्राध्यापकले तयार पारेको नोटमा एआईले लेखेको सामग्रीका स्पष्ट सङ्केत देखेकी थिइन् ।

त्यसको सन्दर्भ सूचीमा ‘च्याटजीपीटी’ को उद्धरण, बारम्बार देखिने टाइप त्रुटि र अतिरिक्त अङ्ग भएका तस्बिर थिए ।  प्रतिष्ठित विश्वविद्यालयको महँगो शुल्कका बावजुद आफूले उच्चस्तरीय शिक्षा नपाएकोमा आक्रोशित स्टेपलटनले विश्वविद्यालयको बिजनेस स्कुलमा औपचारिक उजुरी दर्ता गरिन् ।

सो उजुरीमा एआईको प्रयोगका साथै प्राध्यापकको शिक्षण शैलीमा अन्य समस्या भएको उल्लेख गरिएको थियो । यसरी प्रध्यापकले एआई टुल प्रयोग गरेको भन्दै ती विद्यार्थीले शिक्षण शुल्क लगभग आठ हजार अमेरिकी डलर (करिब १० लाख रुपैयाँ) फिर्ता पाउनुपर्ने माग राखेकी थिइन् ।

तर, धेरै छलफलपछि नर्थइस्टर्न विश्वविद्यालयले स्टेपलटनको माग अस्वीकार गरेको बताइएको छ । एआई नोटका पछाडि रहेका प्राध्यापक रिक एरोउडले आफूले च्याटजीपीटी, पर्प्लेक्सिटी एआई सर्च इन्जिन र एआई प्रेजेन्टेसन तयार पार्ने टुल गामा प्रयोग गरेर लेक्चर तयार पारेको स्वीकार गरे ।