|  

भैरहवा विमानस्थल निर्माणसम्बन्धी अध्ययन उपसमिति संयोजकमा मन्जु खाण

४ बैशाख, काठमाडौं । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अध्ययन उपसमिति संयोजकमा नेपाली कांग्रेसकी प्रतिनिधि सभा सांसद मन्जु खाण चयन भएकी छन्।

यसअघि उपसमिति संयोजकमा नेकपा (एमाले) का सांसद योगेश भट्टराई थिए । भट्टराईले वैशाख २१ गते बसेको सार्वजनिक लेखा समिति बैठकमा आफू भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अध्ययन उपसमिति संयोजकमा नबस्ने बताएका थिए ।

त्यसपछि उपसमिति सदस्यहरूमध्येबाट आइतबार कांग्रेस सांसद खाणलाई संयोजक तोकिएको हो । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अध्ययन उपसमिति संयोजकमा पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई रहेपछि रास्वपा सांसद मनीष झाले प्रश्न उठाएका थिए ।

सांसद झाले समितिको बैठकमा पूर्वपर्यटन मन्त्री रहेका भट्टराईले उपसमितिको नेतृत्व गर्दा प्रतिवेदनमाथि प्रश्न उठ्न सक्ने बताएका थिए।