|  

धनुषा र अन्य १३ जनसङ्गठनको अधिवेशन जेठभित्रै गर्ने एमालेकाे तयारी

०४ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) काे बाँकी रहेकाे धनुषा जिल्ला र अन्य १३ वटा जनसङ्गठनको अधिवेशन यहि महिनाभित्र गर्ने भएकाे छ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बाले निर्धारित समयभन्दा ढिलो भइसकेकाले एमालेले अधिवेशन छिट्टै सक्ने जानकारी दिए । वि.सं २०८१ जेठभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्नुपर्ने भनेकाे थियाे । तर धनुषाको अधिवेशन गत वैशाख २० देखि २३ गते सुरु भए पनि विवादका कारणले रोकिएको छ । धनुषाको अधिवेशन यही जेठ ७ गतेका लागि तोकिएको छ ।

यस्तै एमालेले गत चैत मसान्तसम्म जनसङ्गठनको महाधिवेशन सम्पन्न गर्ने निर्देशन दिए पनि ९ वटा मात्र जनसङ्गठनको महाधिवेशन सम्पन्न भएका छन् । आयोग अध्यक्ष डा. सुब्बाले अनेरास्ववियु, राष्ट्रिय युवा सङ्घ, अखिल नेपाल महिला सङ्घ, नेपाल किसान महासङ्घ, नेपाल खेलकुद महासङ्घ, राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ लगायतको महाधिवेशन गर्न बाँकी रहेको जानकारी दिए । उनले ती जनसङ्गठनको महाधिवेशन यही जेठभित्र सम्पन्न गर्ने गरि कार्यतालिका प्रकाशन गरिसकेका छन । एमालेका २२ जनसङ्गठन रहेका छन् ।