|  

सर्वोच्चले पनि खाेलिदियाे विश्व पौडेललाई गभर्नर बन्ने बाटो

०६ जेठ, काठमाडाैं । सर्वोच्च अदालतले अर्थविद डा. विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुला गरिदिएको छ ।

आज न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उनलाई गभर्नर बन्नबाट रोक्ने रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको यसअघिको आदेश सदर गरेको हो । अर्थशास्त्री पौडेललाई गभर्नर बनाउन नमिल्ने मागसहित अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापा रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । तर, सर्वोच्च प्रशासनले गत शुक्रबार उक्त रिट दरपिठ गरिदिएसँगै कानुनी हिसाबले समेत उनलाई गभर्नर बन्ने बाटो खुला भएको हो । 

राजनीतिक रूपमा यसअघि प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच पौडेललाई गभर्नर बनाउने सहमति भइसकेको छ । यसअघि दरपिठको निर्णय बदर हुनुपर्ने मागसहित अधिवक्ताद्वयले सोमबार इजलासमा निवेदन पेस गरेका थिए ।